(एजेन्सी) । उत्तर कोरियाले एउटा एनिमेटेड भिडियो जारी गरेको छ, जसमा मिसाइल आक्रमण मार्फत अमेरिकाको राजधानी वासिङटन डिसी ध्वस्त गरेको देखाइएको छ । अमेरिकालाई आफ्नो क्षेमता देखाउन कोरियाले यस्तो भिडियोको एनिमेशन गरेको हो ।
उत्तर र दक्षिण कोरियाले एक अर्का विरुद्ध प्रचार-प्रसार गर्ने अभियानको क्रममा उत्तर कोरियाले यस्तो एनिमेटेड भिडियो बनाएको हो । एनिमेटेड भिडियोमा परमाणु हतियार पानी जहाजबाट प्रहार गरेको देखाइएको छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाको अमेरिका तथा दक्षिण कोरियासँगको सम्बन्ध तनावमा छ । उत्तर कोरियाले गएको जनवरीमा परमाणु परीक्षणका साथै लामो दूरीमा मार हान्न सक्ने रकेट प्रक्षेपण गरेको थियो ।
त्यसपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि २० वर्ष यताकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको दक्षिणी सीमा नजिक दक्षिण कोरिया तथा अमेरिकाका सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसप्रति उत्तर कोरियाले असन्तोष व्यक्त गर्दै आएको छ । यो भिडीयोसंगै अमेरिका र उत्तर कोरियाबिचको दुरी अझै बढ्ने देखिएको छ ।