काठमाडौँ । धनुषामा दुई युवतीको शव फेला परेको छ । नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।
मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए । चउरमा घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि थप कुरा खुल्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।