काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स एसयूभी केहि समय अगाडी चीनमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो। यद्यपि टोयोटाको ब्रान्ड रहेको भए पनिबीजेडथ्रीएक्स विशेष गरी जीएसी एवोन भीमा आधारित रहेको जनाइएको छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर यसको ब्याट्री प्रविधि भने फरक रहेको बताइएको छ।
फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको: लम्बाइ: ४,६०० मिमि, चौडाइ: १,८५० मिमि, उचाइ: १,६०० मिमि, ह्वीलबेस: २,७६५ मिमि रहेको छ। टोयोटाले दाबी अनुसार, बीजेडथ्रीएक्समा प्रयोग भएका ६५% पार्ट्स जीएसी सप्लायर्सबाट आपूर्ति गरिएको हो। चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जीएसीको संयुक्त परियोजनामा बनेको हो। यस गाडीको बिक्रि सुरु भएलगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्याससमेत भएको कम्पनीको दाबी रहेको छ ।
नेपालको सन्दर्भमा,जीएसी एवोन ब्रान्डको आधिकारिक वितरक सिजि मोटर्स रहेको छ। यस अन्तर्गत एवोन वाई र एवोन भी जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन्। नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले सिजि मोटर्सले एवोन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो। एवोन भीको विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४ मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५ मिमि, ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको रहेको जनाइएको छ।
अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ। लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ। प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ। सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन्। एवोन भीको सुरुवाती मूल्य रु ६४ लाख ९९ हजार रुपैयाँदेखि राखिएको बताइएको छ ।