काठमाडौं । नेपालको वायुमण्डलमा आज केही सुधार देखिएको छ । यसले गर्दा काठमाडौं उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसमविद्ले बताएका छन् ।
भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार अहिले पूर्वमा इलाम र पश्चिममा रौतहटसम्म नै तुवाँलो बढेको छ । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने छ ।
भोलि फेरि वायुमण्डल स्थिर रहने अनुमान छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना छैन ।
तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको छ । तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने रहेको छैन ।
यसैबीच, आज प्रदेश १, बाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा मेघ गर्जनसहित चट्याङ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।