आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दास्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो ।
नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए । नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ ÷४ तथा सोमपाल कामीले २ रन बनाए ।
नेदरल्याण्ड्सका मिचेल रिप्पोनले ४, असन मल्लिकले २ साथै भिभियन किंग्मा, पौल भ्यान मिकिरेन र भ्यानडर मर्विले १ र १ विकेट लिए ।
नेदरल्याण्डससँग शनिबार भएको पहिलो खेल हारेपछि नेपाललाई सोमबारको खेल जित्नैपर्ने दबाब बढेको छ । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल महत्वपूर्ण छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छन् ।
प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ७ खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । नेपालभन्दा अघि समान ९ र ९ अंक जोडेका हङकङ र स्कटल्याण्ड तथा ८ अंक जोडेको पपुवा न्युगिनी र ६ अंक जोडेको केन्या छन् ।
नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
उज्ज्यालो अनलाइन बाट