काठमाडौं । आज शुक्रबार विश्व बाघ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
पछिल्लो ४ वर्षमा १२० बाघ थपिएको पाइएको छ । २०१८ मा नेपालमा २३५ मात्र भएको बाघको सङ्ख्या अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।
मंसिर १९ देखि फागुन २८ सम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गरेको थियो । जसका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधि प्रयोग भएको थियो । १५० वटा क्यामेराका साथै २०० जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।