प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा आज विभिन्न समिति र आयोगका प्रतिवेशन पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विद्येयक’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विद्येयकको प्रतिवेदन बैठकमा पेश हुन लागेको हो ।
विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन् । कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन समितिले आज सदनमा पेश गर्न लागेको हो ।
विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि फागुन २३ मा शुरू भएको संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको छैन ।
बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन् । सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाएका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल- नेपाल खेमा र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् ।