१५ असोज, काठमाडौँ : दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपको १३ औँ संस्करण शुक्रबारदेखि माल्दिभ्समा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै छ। यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ। कतारमा दुई साताभन्दा लामो प्रशिक्षणपछि नेपाली टोली सोमबार आयोजक राष्ट्र पुगेको थियो।
माल्दिभ्स साविक विजेता पनि हो। सन् २०१८ मा बंगलादेशमा आयोजित पछिल्लो संस्करणको फाइनलमा माल्दिभ्सले भारतलाई २-१ गोलले हराएको थियो। शुक्रबार हुने उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्। हरेक संस्करणमा उपाधि दावेदार मानिने गरेको नेपालले अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन। नेपाल फाइनलमा समेत पुग्न सकेको छैन। भारतले सात पटक र माल्दिभ्सले दुई तथा श्रीलंका, अफगानिस्तान, बंगलादेशले एक–एक पटक उपाधि जितेका छन्। नेपाल गत संस्करणसहित हालसम्म ६ पटक सेमिफाइनलसम्म पुगेको छ।
दक्षिण एसियाली खेलकुद-सागका पछिल्ला दुई संस्करणमा नेपालले फुटबलको स्वर्ण जिते पनि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन। नेपालले अन्तिम पटक अफिसियल सिनियर अन्तर्राष्ट्रिय फुटबल उपाधिका रुपमा सन् २०१६ को सोलिडारिटी कप जितेको थियो।
यसपटकको साफ च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी हुँदै छन्। पाकिस्तान र भूटान सहभागी छैनन्। अफगानिस्तानले साफबाट अलग भएर अर्कै क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलिरहेको छ। लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। नेपालले ४ अक्टोबरमा श्रीलंका, १० अक्टोबरमा भारत र १३ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ। फाइनल १६ अक्टोबरमा हुने छ।
प्रतियोगिता सुरु हुनुअघि सहभागी टोलीको पछिल्लो लय कस्तो छ त ? हेरौँ-
नेपाल
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाँच खेलयता जीत हात पार्न सकेको छैन। यसबीचमा चार हार र एक बराबरीको नतिजा निकालेको छ। आइतबार राति कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले ओमानसँग ७-२ गोलको हार व्यहोरेको थियो।
सेप्टेम्बरको पहिलो साता भारतसँग घरेलु मैदानमा भएको दुईवटा मैत्रीपूर्ण खेलमा नेपालले १-१ गोलको बराबरी र २-१ गोलको हारको नतिजा निकालेको थियो। जुलाईमा कुवेतमा भएको विश्वकपको एसियाली छनोट खेलमा अस्ट्रेलिया र जोर्डनसँग समान ३-० गोलको हार व्यहोरेको थियो। त्यहीँ भएको अर्को खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो।
चैतमा नेपालमा भएको त्रिदेशीय आमन्त्रण फुटबलमा नेपालले फाइनलमा बंगलादेशलाई २-० गोलले हराएर उपाधि जितेको थियो। त्यतिबेला नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा करिब डेढ वर्षपछि पहिलो गोल गर्नुका साथै पहिलो जीत पनि हात पारेको थियो।
त्यसपछि इराकसँग भएको मैत्रीपूर्ण खेलमा ६-२ गोलको हार व्यहोरेको थियो। पछिल्लो समय नेपाली टोलीले जीत हात नपारे पनि गोल भने गर्न सकिरहेको छ। हालको नेपाली टोलीमा रहेका खेलाडीमध्ये नवयुग श्रेष्ठले ७, अन्जन विष्टले ५ तथा सुजल श्रेष्ठ र विशाल राईले ३र३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। अनन्त तामाङले २ तथा मनिष डाँगी र सुनिल बलले पनि एक-एक गोल गरेका छन्।
भारत
भारतले खेलेका पछिल्ला ७ खेलमध्ये २ जीत, तीन बराबरी र दुई हार व्यहोरेको छ। नेपालसँग भएको मैत्रीपूर्ण खेल नै भारतले गरेका अन्तिम प्रतिस्पर्धा हुन्। त्यसअघि उसले सन् २०२१ मा ओमानसँग १-१ गोलको बराबरी खेलेको छ भने यूएईसँग ६-१ गोलको हार व्यहोरेको छ।
नेपालबाहेक उसले बंगलादेशलाई २-० गोलले हराएको थियो। कतारसँग १-० गोलले पराजित भएको थियो। अफगानिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो। भारतको हालको राष्ट्रिय टोलीका खेलाडीमध्ये कप्तान सुनिल क्षेत्रीले ७५, मनवीर सिंहले ४, अनिरुध थापाले ३ तथा उदान्तसिंह कुमाम र फारुख चौधरीले एकएक गोल गरेका छन्।
माल्दिभ्स
माल्दिभ्सले खेलेका पछिल्ला ९ अन्तर्राष्ट्रिय फुटबल खेलमध्ये २ वटामा मात्र जीत हात पारेको छ। उसले सन् २०२१ मा तीन खेल खेलेप नि जीत हात पार्न सकेन। सिरियासँग ४-० र चीनसँग ५-० गोलले पराजित भएको माल्दिभ्सले पछिल्लो खेलमा मात्र फिलिपिन्ससँग १-१ गोलको बराबरी खेलेको थियो।
माल्दिभ्सले अन्तिमपटक सन् २०१९ को नोभेम्बरमा जीत हात पारेको थियो, मैत्रीपूर्ण खेलमा ग्वामलाई ३-१ गोलले हराएर। उसले सन् २०२० मा एउटै पनि खेल खेलेन। सन् २०१९ मा ६ खेल खेलेकोमा २ वटामा जीत हात पारेको थियो, ती दुवै ग्वामविरुद्ध थिए।
माल्दिभ्सको राष्ट्रिय टोलीमा रहेका खेलाडीमध्ये अलि असफाकले ५३, अलि फासिरले १२, असधुल्ला अब्दुल्लाहले ९ तथा इब्राहिम माहुदी, हम्जा मोहमद र अक्रम अब्दुल घानीले दुई–दुई अन्तर्राष्ट्रिय गोल गरेका छन्। अली सामुह, हुसेन सिफाउ र मोहमद नाइमले पनि एकएक गोल गरेका छन्।
श्रीलंका
श्रीलंकाले ११ खेलयता अन्तर्राष्ट्रिय फुटबलमा जीत हात पार्न सकेको छैन। उसले अन्तिमपटक सन् २०१९ को जुनमा जीत हात पारेको थियो, मकाउलाई ३-० गोलले हराएर। त्यसयता उसले खेलेका ११ खेलमा सबैमा पराजित भएको छ।
सन् २०२१ मा उसले दुई खेल खेलेको छ, जसमा लेबनानसँग ३-२ गोलले पराजित भएको थियो भने गत जुनमा भएको पछिल्लो खेलमा दक्षिण कोरियासँग ५-० गोलको हार व्यहोरेको थियो। श्रीलंकाले पछिल्ला ११ खेलमध्ये २ वटा खेलमा मात्र गोल गर्न सकेको छ।
हालको श्रीलंकाको राष्ट्रिय टोलीमा रहेका खेलाडीमध्ये अहमद वासिम रजिक र मोहम्मद आकिबले दुई–दुई गोल गरेका छन्। चरिथा रथनायके, असिकुर रहुमान, कविन्दु इसान र जोहर मोहम्मद जरवान, मोहम्मद फजल र मोहम्मद मुस्ताकले एकएक गोल गरेका छन्।
बंगलादेश
बंगलादेशले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला ९ खेलयता जीत हात पार्न सकेको छैन। उसले अन्तिमपटक सन् २०२० को नोभेम्बरमा नेपाललाई २-० गोलले हराएको थियो। सन् २०२१ मा उसले ७ वटा सिनियर अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा ५ हार र दुईमा बराबरीको नतिजा निकालेको छ। अफगानिस्तान र नेपालसँग बराबरी खेलेको हो। अन्तिम खेलमा सेप्टेम्बरको पहिलो साता किर्गिजस्तानसँग ४-१ गोलले पराजित भएको थियो।
हालको बंगलादेशको राष्ट्रिय टोलीमा रहेका खेलाडीमध्ये महबुबुर रहमान सुफिलले ५, तोपु बर्मानले ४, बिप्लु अहमदले ३, मोतिन मियाले २ तथा रेजाउल करिम, मोहम्मद इब्राहिम र साद उद्धिनले एकएक गोल गरेका छन्।