१७ असोज, काठमाडौँ : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग नार्कोटिक कन्ट्रोल बयूरो–एनसिबी (लागुऔषध नियन्त्रण ब्यूरो) ले बयान लिएको छ । शनिबार राति मुम्बईको तटीय क्षेत्रमा भएको क्रुज पार्टीमा एनसिबीले छापा मारेको थियो ।
त्यसपछि सो पार्टीमा सामेल शाहरुखका छोरा आर्यनसँग एनसिबीले बयान लिएको इन्डिया टुडेले जनाएको छ । शाहरुखका छोरा आर्यनसँग बयान लिइए पनि उनीविरुद्ध कुनै उजुरी दर्ता नभएको र उनी पक्राउ पनि नपरेको एनसिबीका अधिकारीले बताएका छन् ।
शनिबार राति एनसिबीका अधिकारीहरुले आर्यनलाई सोधपुछका लागि लैजाँदै गरेको भिडियो भने सार्वजनिक भएको थियो ।एनसिबीका अधिकारीले आर्यनको फोन नियन्त्रणमा लिएका छन् र लागुऔषध प्रयोगसँग उनको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको जनाइएको छ ।