रोशन पोख्रेल, राैतहट
रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडालाई जिल्लाको सदरमुकाम बनाउन मांग सहित गरुडामा आन्दोलनको शुरुआत भएको छ । केही मधेसवादी नेता मौलापुर, गरुडा र समनपुरमा सेवा केन्द्र विस्तारको विरोध गरेपछि जिल्लाको सम्पूर्ण नागरिकलाई सहज हुने गरुडामा नै सदरमुकाम राख्न माग अगाडि बढाईएको छ ।
जिल्लाको पूर्व पश्चिम, उत्तर र दक्षिण चारै दिशाबाट बीचमा पर्ने गरुडालाई सदरमुकाम बनाए जिल्लाको असी प्रतिशत वासीलाई पायक हुने भएकोले गरुडा नगरपालिकामा नै जिल्लाको सबै प्रमुख कार्यालय स्थापनाको मांग गर्दै आन्दोलनको शुरुवात गरिएको छ । सदरमुकाम स्थापनाका लागि गरुडा सदरमुकाम संघर्ष समितिको चयन समेत गरिएको छ । तत्काल नै आन्दोलनलाई अगाडि बढाउन गठित ५१ सदस्यीय गरुडा सदरमुकाम संघर्ष समितिको संयोजकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सियाराम कुशवाहा फिरोज र प्रवक्तामा शिवशंकर पान्डेलाई चयनित गरिएको छ ।
गरुडा सदरमुकाम संघर्ष समितिको सल्लाहकार समितिमा वृजकिशोर यादव, धर्मनाथ प्रसाद जयसवाल, राम कृष्ण चौधरी, राम भरोस यादव, अशोक प्रसाद यादव, कन्थमुनि जयसवाल, रामजी प्रसाद साह, नागेन्द्र प्रसाद चौरसिया, रामयतन प्रसाद रौनियार, रामसिंह यादव, जितेन्द्र श्रीवास्तव, जोगी साह, राजेन्द्र यादव, जयमंगल यादव, हृदयनारायण राय, रुनुबाबु पान्डे, राजकुमार दास लगायतका व्यक्तिहरु रहेका छन । यसैगरि आन्दोलनको गतिविधि जनमानसमा निरन्तर पुर्याउन गठित प्रचारप्रसार समितिको संयोजकमे मनोज कुमार चौधरी, कृष्णा तिवारी र अमृत कुशवाहाको चयनित गरिएको छ । आन्दोलनको पहिलो कार्यक्रममा शुक्रबार विहान ९ बजे देखि ११ बजेसम्म गरुडाको झाँझपुल लक्ष्मीपुर चौकमा २ घन्टा चक्काजाम गर्ने योजना रहेको संघर्ष समितिका प्रवक्ता शिवशंकर पान्डेले जानकारी दिएका छन । संघर्ष समितिको स्वरुपमा आवश्यकता अनुसार परिमार्जन हुने प्रवक्ता पान्डेको भनाई रहेको छ । गरुडामा जिल्लाको सबै प्रमुख सरकारी कार्यालय नआएसम्म अनिश्चितकालीन सडक आन्दोलन जारी राख्ने संघर्ष समितिको संयोजक फिरोजले बताए ।