मकवानपुरको हेटौँडामा शैक्षिक मेला हुने भएको छ । शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको हेटौँडामा अभियान मल्टिमिडियाले मेला गर्न लागेको हो । विदेश अध्ययनमा जाने विद्यार्थी र स्वदेशकै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गर्न लागिएको हो ।
मेलामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिदै आएका परामर्श कम्पनी र स्वदेशी कलेजको सहभागिता रहेन अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिनुभयाे । मेलामा हेटौडाबाट शैक्षिक परामर्श सेवा दिँदै आएका कन्सल्टेन्सी तथा हेटौँडामा संचालित कलेजहरुको सहभागिता रहने छ । यसका साथै नेपाली विद्यार्थी अध्ययनका लागि जाने विभिन्न देशका कलेज तथा विश्वविद्यालयको समेत सहभागिता रहने छ । हेटौँडालाई राष्ट्रिय शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नका लागि मेला फलदायी हुने आयोजकको विश्वास छ । करिब ४० वटा स्टल रहने मेला २ दिनसम्म चल्ने छ । आगामी जेठ १९ र २० गते सम्पन्न हुने मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनसँग सम्बन्धित विस्तृत जानकारी लिने अवसर पाउने अधिकारीको दाबी छ । यसका साथै स्वदेशी शिक्षण संस्थामा नै पढ्न चाहने विद्यार्थीका लागि समेत हेटौँडामा संचालित कलेजका प्रतिनिधिले परामर्श दिने छन् ।
पछिल्लो समय नेपाली विद्यार्थी वैदेशिक अध्ययनप्रति आकर्षित भइरहेकाले पनि यस सम्बन्धि शैक्षिक मेलाको आवश्यकता भएकाले मेला गर्न लागिएको आयोजकको तर्क छ । साथै स्वदेशी कलेजले दिने शिक्षाका बारेमा पनि विद्यार्थी अनभिज्ञ रहने गरेको तथा पढनका लागि राजधानी नै जानुपर्छ भन्ने मान्यता भएकाले त्यसलाई चिर्नका लागि राजधानी बाहिर मेला गर्न लागिएको हो । हेटौँडामा रहेका शिक्षण संस्था अर्थात कलेजहरुले दिने शिक्षा पनि गुणस्तरीय बन्दै गएकाले त्यस सम्बन्धमा जानकारी दिन आवश्यक रहेको त्यस क्षेत्रमा संचालित कलेजका प्रतिनिधिको तर्क रहेको छ । अभियान मल्टिमिडियाले गर्न लागेको मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गराउनमा सहयोग मिल्ने त्यस क्षेत्रका शिक्षाप्रेमीहरुको विश्वास छ । यसअघि त्यस क्षेत्रमा यस्ता मेला आयोजना नगरिएकाले पनि शिक्षा सरोकारवाला र विद्यार्थीहरु मेलाप्रति निकै आशावादी छन् ।