मंसिर १० र २१ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले, माओवादी र अन्य वाम घटकबीच चुनावी तालमेल भएको छ । यस गठबन्धनमा हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र समुह पनि सामेल छ । एमाले र माओवादी बीच भने अहिले चुनावी तालमेलको बाटो हुँदै भविश्यमा पार्टी एकता गर्ने सहमति भएको छ । यस घटनाले दुवै पार्टीका कार्यकर्ता र शुभेच्छुक बीच उत्साहको सञ्चार गरेको देखिएको छ ।
चुनावी तालमेल पश्चात विभिन्न जिल्लामा प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गर्ने मतबारे आकलन भइरहेका छन् । सञ्चार माध्यममा आएका विश्लेषणले भर्खरै सम्पन्न स्थानीय चुनावमा एमाले र माओवादीले पाएको मतसंख्या लाई आधार बनाएर चुनावी प्रक्षेपण गर्दै वाम दल बलियो भएको उल्लेख गरिरहेका छन् ।
केन्द्र/प्रदेशको निर्वाचन र स्थानीय निर्वाचनका आयाम फरक हुन्छन् । स्थानीय निर्वाचनमा उम्मेदवार धेरै थिए । एउटा दलबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य सहित ७ जनाको समुहले एउटा वडामा सघन प्रचार गर्दा स्थानीय स्तरमा धेरै मत प्रभावित हुनु स्वाभाविक हो । त्यसमाथि चुनावमा उठेका उम्मेदवारसँग प्रत्यक्ष चिनजान र सम्पर्क हुने हुँदा मतदाताले स्थानीय निर्वाचनमा लिने निर्णय स्थानीयताले नै ज्यादा प्रभावित हुन्छ । त्यसको ठीक विपरित केन्द्र र प्रदेशको निर्वाचनमा मतदाता अपेक्षाकृत ज्यादा स्वतन्त्र हुन्छन् । उम्मेदवारसँग धेरै मतदाताको सिधा चिनजान सम्भव हुँदैन । त्यसैले चुनावी लहर, प्रचारको प्रभावकारिता र राष्ट्रिय रुपमा उम्मेदवारको दलले लिएका नीतिले मतदाताको निर्णयमा प्रमुख भूमिका खेल्छ ।
यो यथार्थ हो कि, विगत स्थानीय निर्वाचन धेरैजसो जिल्लामा एमाले, माओवादी र गठबन्धनमा सामेल घटकले प्राप्त गरेको मत संख्या जोड्दा कांग्रेस नेतृत्वको गठबन्धन भन्दा धेरै मत छ । तर, त्यो मत जस्ताको तस्तै वाम गठबन्धनका पक्षमा सर्लक्कै खस्छ भन्ने सोच र मुल्यांकन गलत हुन्छ । दुई वा तीन दल एक हुँदा त्यसले ल्याउने सकारात्मक प्रभावका कारण मतसंख्या झन् बढ्न पनि सक्छ । अर्काेतिर गठबन्धन भित्रका असन्तुष्टिको ब्यवस्थापन हुन सकेन भने मत घट्ने सम्भावना त्यतिकै रहन्छ । कांग्रेसका उम्मेदवारले वाम गठबन्धन भित्र असन्तोषको खोजी गर्दै त्यसमा खेलेर आफ्नो सम्भावना बलियो पार्ने प्रयास गर्छन् । कांग्रेसले पनि राप्रपासँग तालमेल गरेकाले त्यहाँको असन्तोषमा खेल्ने प्रयास वाम गठबन्धनका उम्मेदवारले गर्छन् । यस्तो अवस्थामा जित्न चाहने उम्मेदवारले स्थानीय चुनावको मतसंख्यामा भर नपरी आफ्नो गठबन्धनका संगठन र कार्यकर्ता परिचालन गर्दै प्रत्येक मतदाता समक्ष पुग्ने प्रयास गर्नुपर्छ ।
संख्यात्मक हिसावले वाम गठबन्धन संगठनात्मक फाइदामा छ । एमाले र माओवादीका स्थानीय कार्यकर्ता आपसमा जोडिएर परिचालित भए उनीहरुसँग जनशक्तिको कमी रहने छैन । राप्रपासँग गठबन्धन भए पनि प्राय निर्वाचन क्षेत्रमा कांग्रेसले एक्लै चुनाव प्रचार धान्नु पर्नेछ । राप्रपाको संगठन ब्यक्ति केन्द्रित छ । दुवै गठबन्धनका उम्मेदवारले नकारात्मक प्रचारबाजी भन्दा आ–आफ्ना मुद्दा जनतामा प्रस्तुत गरेर मत माग्नु उनीहरुका लागि फाइदाजनक छ । यसको उदाहरण ओखलढुंगामा वाम गठबन्धनले प्रस्तुत गरेको छ । कांग्रेसका पुराना नेता बलबहादुर राईको शालिकमा माल्यार्पण गर्दै गठबन्धनका तर्फबाट एमाले उम्मेदवार यज्ञराज सुनुवारले असल उदाहरण प्रस्तुत गरेका छन् । सुनुवारका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार कुनैबेला उनै राईका निजी सहायक थिए । सुनुवारको कदमले उनी जिल्लामा सबैका स्वीकार्य नेता बन्न सक्छन् भन्ने प्रमाणित गरेको छ । गठबन्धनका उम्मेदवारले देशभरी यो सहिष्णुताको उदाहरण पछ्याउन सके संख्या सँगै नैतिकताको लाभ पनि उनीहरुले उठाउन सक्नेछन् । चक्रपथ डट कम बाट