काठमाडौं, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वको सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रसँग तत्काल एकता नहुने भएपनि माओवादीलाई पनि साथमै लिएर सरकार बनाउनेगरि ओलीले आफू निकट नेताहरुसँग आजबाट परामर्श थालेका छन् ।
ओलीले मन्त्रिमण्डल विस्तारमा एमाले–माओवादीवीच ६५–३५ को अनुपातमा भागबण्डा मिलाउने संकेत समेत गरेका छन् । तर, माओवादीले ४० प्रतिशत माँगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वान–टु–वान भेटवार्तामा समेत मन्त्रिमण्डल विस्तारबारे केन्द्रित रहेर छलफल भएका थिए ।
ओलीले एमालेको भागमा राष्ट्रपति पनि पर्ने भएकोले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने तयारी थालेका छन् । यसको लागि उनले प्रचण्डलाई समेत कन्भिन्स गराईसकेका छन् । केही दिन पहिले ओली र प्रचण्डले राष्ट्रपति भण्डारीसँग डिनर खाएका थिए ।
यता माओवादीको भागमा पर्ने भनिएको सभामुखमा ओनसरी घर्तीमगरलाई नै अघि सार्ने प्रचण्डको तयारी छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने वाम गठबन्धनभित्र आन्तरिक सहमति भएको छ ।
माओवादी केन्द्रबाट दिनानाथ शर्माको नेतृत्वमा सरकारमा मन्त्रीहरुले सहभागिता जनाउने भएका छन् । शर्मा राष्ट्रिय सभामा हालै निर्वाचित भएका हुन् । उनी प्रदेशमा नम्बर ४ बाट निर्वाचित भएका हुन् ।