काठमाडौं । बिहीबार राजधानीमा आयोजना हुने नेपाली खेलकुद क्षेत्रको सबै भन्दा प्रतिष्ठित ‘एनएसजेफ स्पोर्ट्स अवार्ड २०७४’ अन्तरगतका ४ बिधामा मनोनयनमा परेका खेलाडी एवं प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जेठ ३ गते आयोजना हुने एनएसजेफ स्पोर्ट्स अवार्डको ४ बिधामा परेका खेलाडी र प्रशिक्षहरुको नाम सार्वजनिक गरेको छ ।२०७४ सालमा आ(आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान दिदै नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल चार बिधाका २० जना खेलाडी एवं प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डको ३ बिधाको मनोनयनमा परेका छन् ।
लामिछाने पिपुल्स च्वाईस, युवा खेलाडी र बर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
सोमबार सार्वजनिक गरिएको बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका दिपेश धामी, क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, जुडोका ईन्द्र बहादुर श्रेष्ठ, टंक बहादुर कार्की परेका छन् भने बर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा बक्सिङकी बिमला श्रेष्ठ, ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सवित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् । त्यसैगरी युवा खेलाडीको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका दिनेश हेम्जन, क्रिकेटका दिपेन्द्र सिह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल परेका छन् ।
त्यसैगरी बर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमटा, यु(१९ क्रिकेटका बिनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ परेको खेलाडी छनोट समितिका संयोजक राजु घिसिङ तामाङले जानकारी गराउनु भएको थियोे । यस अघि खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाईस बिधाको मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिसकेको छ ।
news24tv.com बाट साभार