जेठ,२०/ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी सुधार गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।
वरिष्ठ नेता पौडेलले मुलुकको राजनीतिलाई सही बाटोमा अघि बढाउन पनि कांग्रेसभित्र सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएका हुन्। काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसमा सुधार आए मुलुकको राजनीति सही बाटोमा आउने दाबी समेत गरे।
वरिष्ठ नेता पौडेलले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन प्राविधिक शिक्षामा जोड दिन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए। उनले नेपाल प्रकृतिले धनी भएको उल्लेख गर्दै त्यसमा प्रविधि भित्र्याउन सके समृद्धिको आधार तय हुने तर्क पनि गरे।
पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासका लागि पनि प्रविधि भित्र्याउन सबै पक्षले जोड दिनुपर्ने बताए। प्राकृतिक सम्पदाहरुको उचित व्यवस्थापन गरे नेपाल छिटै विश्वकै धनी देश हुने नेता उनको बुझाइ छ।