काठमाडौं २१ जेठ । इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन (आयोन) ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ ।
यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन्। यती एयरलाइन्सका प्रबन्धक भीमराज राईका अनुसार यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्कमा वृद्धि गरेका छन्। अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढाउने निर्णय भएको हो। निजी एयरलाइन्सले हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य थपघट हुँदा फयुल सर चार्ज पुनरावलोकन गर्छन्। उनीहरूले पुनरावलोकन गरेको दरलाई नागरिक उड्डयन प्राधिकरणले सदर गर्नुपर्छ। प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायुसेवा सञ्चालकले पठाएको प्रस्ताव प्राधिकरणमा आइपुगेको तर सदर भइनसकेको बताए। उनका अनुसार, प्राधिकरणका महानिर्देशकले यसलाई सदर गर्नुपर्छ।
आयोनको सदस्य एयरलाइन्स सिम्रिकका मार्केटिङ तथा सेल्स प्रमुख प्रजोल थापाका अनुसार, वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले ट्रंक (सुगम) रुट र स्टल (पहाडी) रुट दुवैको हवाई टिकटमा फयुल सर चार्ज वृद्धि गरी प्राधिकरणमा सिफारिश गरेको हो। संघले यसअघि पुसमा पनि हवाई इन्धनको मूल्य वृद्धि हुँदा फयुल सर चार्ज बढाएको थियो। हवाई इन्धनको कम्तीमा ४ रुपैयाँ प्रतिलिटर घटबढ हुँदा इन्धन शुल्क पनि घटाउने वा बढाउनका लागि फ्युल सरचार्ज समायोजन समिति छ। यसमा आयोनसँगै नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण पनि रहेको छ। आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको हो।
मुलुक भर काठमाडौंसहित ३० वटा विमानस्थलमा हवाई सेवा छ। यिनमा नेपाल वायुसेवासहित नौवटा एयरलाइन्सले उडान सञ्चालन गर्छन्। दैनिक सबैभन्दा धेरै उडान हुनेमा काठमाडौं, पोखरा, लुक्ला, सिमरा र विराटनगर पर्छन्।
कान्तिपुरबाट