काठमाडाैँ ३०, साउन ।
सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उनलाई पदबाट हटाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराए ।यसअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको थियो ।
कार्यसम्पादन सन्तोषजनक नभएको आरोप उनीमाथि थियो ।यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । त्यसअघि अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए ।
त्यतिबेला प्रधानमन्त्री ओलीले राजभण्डारीलाई बोलाएर टेलिकमले काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको बिषयमा प्रष्टिकरण सोधेका थिए ।त्यसलगत्तै उनको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई सात दिने स्पष्टिकरण सोधेको थियो । तर त्यतिबेला उनको पद जोगिएपनि यो पटक पद जोगिएन ।
२०७३ असोजमा उनी तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन्