काठमाडौं । शाहवंशमा राजाले लगाउने श्रीपेच आउँदो सोमबार (असोज २९) बाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिने छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उद्घाटन गरेसँगै सर्वसाधारणका लागि पनि सो कक्ष खुल्ला गरिने दाहालले बताए । विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझावसहितको प्रतिवेदनका आधारमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो व्यवस्था गर्न लागेको हो ।
अवलोकनका लागि राखिने श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो । काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा लिएका थिए । राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा पहिरिएका थिए ।
२०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो । सो कक्षभित्र श्रीपेचलाई १३ वटा लाहाछाप लगाइ बन्द बाकसभित्र राखिएको छ भने कक्ष बाहिरको ढोकामा १० वटा लाहाछाप लगाइएको छ । सो कक्ष बाहिर चौबिसै घण्टा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ ।
कसरी गरिँदैछ श्रीपेचको सुरक्षा
सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरेको थियो । तर, सुरक्षाको कारण देखाउँदै श्रीपेचलाई सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको थिएन । करिब ६ वर्षपछि मात्रै आवश्यक सुरक्षा प्रबन्ध गरी श्रीपेचलाई अवलोकनका लागि राख्न लागिएको हो । जसका लागि सुरक्षाका ७ वटा तह निर्धारण गरिएको बताइएको छ ।
श्रीपेचको सुरक्षाका लागि केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिएको थियो । नेपाली सेनाको कालीबहादुर गणका सेनाले सोकेसको परीक्षण गर्ने क्रममा १६ फिट टाढाबाट गोली प्रहार गर्दा सिसा सामान्य रुपमा चर्किएको मात्र थियो । यसपटक सोही सोकेसमा श्रीपेचलाई राखिने संग्रहालयले बताएको छ । नारायणहिटी दरबार सङग्रहालय २०६५ फागुन १६ गतेबाट सर्वसाधारणले पनि अवलोकन गर्न पाउँछन् । पछिल्लो एक दशकमा संग्रहालयमा २९ लाख १४ हजार ७ सय १७ जनाले अवलोकन गरेको सङग्रहालयले जनाएको छ ।