तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेपाङ्ग्रा छन् ।
बिस्काः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा यो जात्रा मनाइन्छ । जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ ।
लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा नयाँ वर्षको चार दिनपछिसम्म अर्थात् आठ रात नौ दिन मनाउने प्रचलन छ । यो जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ ।