एजेन्सी । सन् २०१९ को अन्तिमदेखि फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड-१९) ले विश्व आक्रान्त बनेको छ । यसबाट संक्रमित २९ लाख ८४ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् । हालसम्म १३ करोड ८८ लाख २८ हजार बराबर मानिस संक्रमित भइसकेका छन् ।
चमेरा वा कुनै सामुद्रिक जीवबाट भाइरस संक्रमण फैलिन थालेको हुन सक्ने बताइएको छ । तर हालसम्म यसको उत्पत्तिका बारे यथेस्ट प्रमाण प्राप्त भइसकेको छैन । यसैबीच चमेराबाट नै सर्ने अर्को ‘निपा’नामक भाइरस भने ओझेलमा थियो ।
खोप निर्माण र कम आय भएका मुलुकमा वितरण गर्न सहयोग गर्ने संस्था गाभीका अनुसार निपा भाइरसबाट संक्रमित १७ जनाले सन् २०१८ मा भारतको केरलामा ज्यान गुमाएका थिए । यसबाट संक्रमित १९ मध्ये १७ जनाको ज्यान गएको हो ।
तर त्यहाँको स्वास्थ्य सतर्कता र अफ्रिकामा फैलिएको इबोला भाइरसविरुद्धको स्वास्थ्य मापदण्डको अनुभवले नियन्त्रण गर्न सहज भयो । स्वास्थ्य मापदण्डको पालना गर्दा गर्दै पनि पुनः सन् २०१९ मा एक विद्यार्थीमा भाइरस संक्रमण भएको पुष्टि भयो ।
लगत्तै उनको सम्पर्कमा आएकाको परीक्षण गर्दा ३२९ जनामा समेत संक्रमण भएको पाइयो । तर त्यसबेला भने कसैको मृत्यु हुन भएन । भाइरस त्यति धेरै फैलिन नपाएको बताइएको छ ।
यदि भारतको केरलाबाहेक अन्य राज्य वा भारतभन्दा अन्य मुलुकमा पनि भाइरस फैलिएको भए यसले ठुलो महामारीको रूप लिन सक्थ्यो । यो भाइरसबाट संक्रमितको मृत्युदर उच्च हुनुले पनि यसको फैलावट कम भएको हुन सक्छ ।
संक्रमित व्यक्तिबाट अन्यमा फैलिन नपाउँदै सो व्यक्तिको मृत्यु भएमा संक्रमण कम फैलिने विज्ञहरू बताउँछन् । तर लुप्त भएको भाइरसले सजिलैसँग कयौँ मानिसलाई संक्रमण फैलाउन सक्छ र त्यसको परिणाम भयावह हुन सक्छ ।
के हो निपा भाइरस ?
यो चमेराबाट सर्ने भाइरस भएको विज्ञहरूले बताएका छन् । विशेष गरी भारत, बंगलादेश, मलेसिया, सिङ्गापुर तथा दक्षिण–पूर्वी एसियाली मुलकमा भएको चमेराबाट सर्ने बताइएको छ । तर साधारण मानिसले कुन जातको चमेराबाट मानिसमा सर्छ भन्ने कुराको हेक्का राख्न सकेका छैनन् । भाइरसबाट संक्रमितमध्ये ४० देखि ७५ प्रतिशत मानिसको ज्यान जाने गरेकाले यो निकै खतरनाक रहेको देखिन्छ ।
यो कसरी सर्छ ?
निपा भाइरस चमेराबाट मानिसमा सर्छ । विशेष गरी फलफूल र यसको रुखमा रहने चमेराबाट मानिसमा भाइरस सर्छ । चमेराले खाएको जुठो फल वा छोएको फलफूल मानिसले खाँदा वा प्रयोग गर्दा भाइरस सर्छ । यसैगरी चमेराबाट विभिन्न घरपालुवा जनावरमा सर्ने र जनावरबाट मानिसमा समेत सर्ने हुन्छ ।
मलेसियामा सन् १९९८ को सेप्टेम्बरमा सुँगरबाट मानिसमा सरेको पाइएको थियो । सुँगुरमा चमेराबाट पहिले नै संक्रमण भएको थियो । १९९९ को मेसम्म फैलिएको भाइरसबाट २६५ जना संक्रमित भएका थिए । जसमध्ये १०५ जनाको ज्यान गएको थियो ।
लक्षण तथा संक्रमण अवधि
निपा संक्रमित व्यक्तिमा श्वासप्रश्वास समस्या हुन्छ । यसका साथै मस्तिष्कमा जलन हुने हुन्छ । जसका कारण बिरामी कोमामा जाने तथा मृत्युवरण समेत हुने हुन्छ । यसैगरी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने आदि लक्षण देखा पर्छन् । संक्रमित व्यक्तिलाई चरम थकान महसुस हुने, अचेत हुने, झुम्म हुने जस्ता लक्षणहरू पनि देखिन्छन् ।
यो भाइरसको अवधि सामान्यतः ५ देखि १४ दिन हुने गरेको देखिएको छ । तर कतिपयमा भने ४५ दिनसम्म रहने गरेको भेटिएको छ । यति लामो समयसम्म भाइरस रहने भएकाले नजानिदो तरिकाले कयौँ मानिसमा संक्रमण फैलिने खतरा हुन्छ ।
महामारीको खतरा !
दक्षिण–पूर्वी एसियाका मुलुकहरू यस भाइरसबाट प्रभावित हुने खतरा देखिन्छ । बगैँचा, पूजा गर्ने स्थल, विद्यालय लगायतका स्थानमा पनि चमेरा रहन सक्ने हुँदा त्यहाँबाट मानिसमा फैलिने खतरा निकै देखिन्छ ।
चमेरा फलफूलमा रहने भएकाले बजारसम्म भाइरस पुग्ने खतरा पनि उत्तिकै छ । यसले एकैपटक हजारौँ मानिसमा संक्रमण हुने र महामारीको रूप लिन धेरै समय नलाग्ने देखिन्छ ।
६० प्रतिशत मानिसलाई भाइरस सार्ने चमेराको बारे ज्ञान नभएको बताइएको छ । विश्वको जनसंख्याको करिब ६० प्रतिशत मानिस बसोबास गर्ने क्षेत्रमा निपा भाइरस हुनुले जुनसुकै बेला पनि यसले महामारीको रूपधारण गर्ने सम्भावना रहेको देखिन्छ ।
खोप विकास भइसक्यो ?
निपा भाइरसविरुद्ध हालसम्म खोप विकास भइसकेको छैन । तैपनि २०२० को फेब्रुअरीमा सुरु भएको खोपले २०२१ को सेप्टेम्बरसम्ममा पहिलो चरणको परीक्षण भने गरि सक्ने अपेक्षा गरिएको छ ।
खोप विकासका लागि महामारी तयारी प्रवर्तन गठबन्धन (सीईपीआई)ले सन् २०१८ मा २ करोड ५० लाख डलर लगानी गरेको छ । अमेरिकाको सिनसिनती बाल मेडिकल केन्द्रमा भइरहेको खोप निर्माण कार्यको परीक्षण १८ देखि ४९ वर्ष उमेर समूहका मानिसमा गरिने बताइएको छ ।
महामारीको रूप लिने खतरा कसरी कम गर्न सकिन्छ ?
संक्रमित व्यक्ति पत्ता लगाएर आवश्यक कन्ट्राक्ट ट्रेसिङ गर्ने लगायतका उपायले महामारी बन्नबाट रोक्न सकिन्छ । सबभन्दा मुख्य कुरा चाहिँ स्थानीय समुदायलाई यसबारे जनचेतना जगाउनुपर्छ ।
चमेराबाट जनावर तथा फलफूललगायतमा पहिले भाइरस सर्ने भएकाले सचेत हुन स्थानीयलाई बताउनु उपयुक्त हुन्छ । यसका साथै जति सक्दो चाँडो प्रभावकारी खोपको विकास गर्नुपर्छ । (यो खबर हामीले लाइभमान्डूबाट साभार गरेका हौं)