काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण तीब्र बनेका १५ जिल्लाका १५ वटै शहरका विद्यालयहरु बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उक्त सूचिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्ला छन् ।
शनिवार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण बढ्न नदिन वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमणको उच्च जोखिम देखिएका काठमाडौं उपत्यकाका तीन जिल्लकासहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
संक्रमणको गति हेरेर पहिलो चरणमा १५ सहरको सिफारिस गरेको बैठकले संक्रमितको संख्याको आधारमा थप क्षेत्र बढाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले यस अगाडि नै १४ जिल्लालाई अति प्रभावित सूचिमा राखेर सन्तानलाई विद्यालय नपठाउन आग्रह गरेको थियो ।
केही विद्यालयले भौतिक कक्षा बन्द गरेर अनलाइन कक्षा सुरु गरे पनि निजी विद्यालयका सङ्गठन तत्काल विद्यालय बन्द गर्ने पक्षमा देखिएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले विद्यालय बन्द नगरी बालबालिकाको ज्यान गए ज्यानमारा केस लाग्न सक्ने भनेर चेतावनी दिइसकेका छन् ।