काठमाडौं । बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन ।
मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्यालय बन्द नगरेको नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले बताए । संक्रमण देखिएको विद्यालय भने बुधबारबाट बन्द गर्न सिफारिस गरिएको छ ।
यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।