काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शयया भरिएका छन् । शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।
कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन/चार दिनदेखि कोभिड शयया भरिभराउ छन् ।
बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए । राजधानीका मुख्य मुख्य कोभिड अस्पतालहरू भरिएपछि बिरामी व्यवस्थापन गर्न हम्मे परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागू गर्न, गराउन आदेश दिए पनि पूर्ण रूपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए ।
‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’, उपत्यकामा लकडाउन समेत गर्नुपर्ने अवस्था आइसकेको तर्फ संकेत गर्दै उनले भने । नागरिक दैनिकमा खबर छापिएको छ ।