छिमेकी मुलुक भारतमा कोरोना भाइसको सङ्क्रमणले नयाँ रेकर्ड बनाइरहेको हुँदा यता नेपालमा पनि संक्रमण दर उच्च हुँदै गएको छ । नेपालमा एक साताको अवधिमा १० हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो शुक्रवार नौ सयमा संक्रमण पुष्टि भएकोमा संक्रमित संख्या बढेर विहीवार एकैदिन २४२८ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिवार ८४३, आइतबार १०९६, सोमवार १२८१, मंगलबार १७३६, बुधवार २३५१ र विहीवार २४२८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, विहीवार थपिएको सहित नेपालमा संक्रमित संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । थप १० हजार १ जनाको पिसिआर परीक्षण तथा ४४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २ लाख ९२ हजार १५२ जना पुगेको छ । हाल ८१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्र १ हजार १७४ जना रहेका छन् । काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ७६ हजार ३४५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५२ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार ६९० सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय रूपन्देहीमा १२५, मोरङमा ११३, पर्सामा ७९, कैलालीमा ७३, पाल्पामा ४२, कञ्चनपुरमा ३७, सुनसरीमा ३६, बर्दियामा ३१, कास्कीमा ३१, मकवानपुरमा ३०, कपिलवस्तुमा २७, दाङमा २३, चितवनमा २२, काभे्रपलाञ्चोकमा १७, स्याङ्जामा १४, नुवाकोटमा १२ तथा गुल्मीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय पाँच जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।