माओवादीबाट निष्कासित सबै सांसदलाई उपनिर्वाचनमा जिताइने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीका सबै पूर्व सांसदहरुलाई निर्वाचन गराएर जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै ओलीले माओवादी त्याग गरेर आएका सांसदको संरक्षण एमालेले गर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि ती सांसदहरुको पद गुमेको थियो ।
उनले भने, ‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरु ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ। पूर्व माओवादी साथीहरु प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नुभयो, उहाँहरुलाई पुनः चुनाव गराएर जिताइनेछ । एमालेमा लागेपछि जसरी पनि संरक्षण हुन्छ। केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन।’