रुपन्देहीमा पनि कोभिड संक्रमितको संख्या बढ्दै गए पछि रुपन्देही प्रशासनले भीड नियन्त्रण गर्ने प्रयास थालेको छ । यसअघि नै बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो । अहिले भने रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख‚ अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानीय तहका सबै शिक्षण संस्था बन्दको निर्णय गरेको छ । शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइको ब्यवस्था गर्न भनेको छ ।
यसको साथै सबै किसिमका पूर्व निर्धारित परीक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ । यसको साथै बैठकले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए ।
बैठकमा सबै स्थानीय तहका अध्यक्ष‚ प्रमुख एवम् प्रतिनिधिहरुले कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आइसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरी पूर्व तयारी अवश्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग‚ रुपन्देही प्रहरी प्रमुख‚ सशस्त्र प्रहरी प्रमुख‚ राष्ट्रिय अनुसन्धान आयोगका रुपन्देही प्रमुखको साथै जिल्लाका १६ वटा स्थानीय तहका अध्यक्ष‚ प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।