काठमाडौं । आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ ।
म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ ।
निषेधाज्ञा लगाउँदा समेत कोरोना भाइरसको संक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना भाइरसको संक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।