काठमाडौं, बैशाख २३ । कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोनाविरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ ।
सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउन नसक्नुमा बिचौलिया विजय दुगड र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती रितुसिंह वैद्य बाधक रहेको बताएको छ । हुकुम इन्टरप्राइजेजको वित्तीय व्यवस्थापन हेर्ने गरी साझेदारी गरेकी वैद्यले श्रीमान् सुरज वैद्यलाई प्रयोग गरी प्रधानमन्त्री र प्रधानमन्त्री निकटका मानिसलाई दबाब दिएर कमिसन खानका लागि नेपाल आउने खोपमा रोक लगाएको नयाँ तथ्य बाहिर आएको छ ।
सरकारको खोप अभियानअन्तर्गत भारतले १० लाख र चीन सरकारले ८ लाख मात्रा अनुदानमा दिएको र भारतबाट खरिद गरेको गरी झन्डै २४ लाख मात्रा खोप जनतालाई लगाइसकिएको छ तर खरिद गरिसकेको बाँकी खोप नआउँदा सरकारको खोप अभियानमै बाधा परेको छ ।
भारतीय नागरिकसमेत रहेकी रितुसिंह वैद्य र विजय दुगडले कोरोनाविरुद्धको खोप नेपाल ल्याउने प्रक्रियामा अवरोध गरेपछि अहिले नेपाली नागरिकले आफू ठगिएको महसुस गरेका छन् ।भारतबाट खरिद गर्ने खोपका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीबीच कुरा नमिल्नुमा बिचौलिया हावी भएको बताइएको छ । सरकारले जीटूजी प्रक्रियाबाट खोप खरिद गरे पनि त्यसको कमिसन आफूहरूले पाउनुपर्ने दाबी गर्दै स्वास्थ्य मन्त्रालयलाई दबाब दिँदै आएको बताइएको छ ।
बिचौलिया दुगड र वैद्यले सेरम इन्स्टिच्युटबाट नेपाल सरकारलाई पत्र लेखाएर खोप सोही कम्पनीमार्फत नेपाल ल्याउन दबाब दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । अहिले खोप खरिद प्रक्रियालाई लिएर प्रधानमन्त्री र मन्त्रीबीचको मनमुटाव हुनुमा बिचौलिया दुगड र वैद्य प्रमुख कारण रहेको बताइएको छ ।
नेपाल सरकारले सेरम इन्स्टिच्युटलाई खोप नेपाल ल्याउनका लागि १ अर्ब रुपियाँ बैना दिएको भए पनि बिचौलियका कारण समयमा खोप नआएपछि अहिले नेपाली जनता खोप लगाउनबाट वञ्चित भएका छन् ।
नेपाल सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउने र उक्त खोप ल्याउन सम्भव नभए अन्य देशबाट खोप ल्याउने गरी त्यसको समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मा दिएको भए पनि बिचौलियाको दबाब कारण मन्त्रालयसमेत निरीह भएको छ । नेपाल समाचारपत्र दैनिकबाट