एजेन्सी । इटलीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर ५३ वर्षपछि युरोकपको उपाधि जितेको छ। वेम्वलीमा सोमबार बिहान सम्पन्न फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पराजित गरेको हो ।
इंग्ल्याण्डका बुकायो साकाको अन्तिम पेनाल्टी प्रहार गोलकिपर जियानलुजी डोनारुम्बाले बचाएपछि इटलीले खेल जितेको हो । उनले इंग्ल्याण्डका साका र जाडोन सान्चोको पेनाल्टी बचाए ।
इंग्ल्याण्डका मार्कुस रासफोर्डको प्रहार पोष्टमा लागेर फर्कियो । सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे । वेम्वलीमा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि पेनाल्टीसुटआउट निर्णायक बनेको हो ।
इटली एक भन्दा धेरै युरोकप जित्ने चौथो टिम बनेको छ । इटलीले यसअघि सन् १९६८ मा युरो जितेको थियो । जर्मनी र स्पेनले सर्वाधक ३-३ पटक युरो जितेका छन् भने फ्रान्स दुई पटक च्याम्पिएको भएको छ ।
इटलीले दोस्रो उपाधि जित्नका लागि ५३ वर्ष पर्खनुपर्यो । जुन युरोकप जित्ने टिमको सबैभन्दा लमो ग्याप हो । यस्तै इटली एकै युरोकपमा दुई पेनाल्टीसुटआउटमा विजयी हुने पहिलो टिम बन्यो ।
इटलीले सेमिफाइनलमा स्पेनलाई पनि पेनाल्टी सुटआउटमै पराजित गरेको थियो । इटलीका डिफेण्डर लियोनार्दो बोनुची युरोकपको फाइनलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने । उनले इंग्ल्याण्डविरुद्ध ६७ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
फाइनल खेल्दा बोनुची ३४ वर्ष ७१ दिनका थिए । युरो च्याम्पियन इटलीले अपराजित यात्रालाई ३४ खेलसम्म पुर्याएको छ । यस्तै पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।
रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।
यसैगरी स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि चुम्न सफल भएका हुन् ।
प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै, इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् ।