२५ भाद्र, एजेन्सी : सामाजिक सञ्जाल फेसबुकले रे-बन कम्पनीसँग मिलेर फोटो र भिडियो खिच्न सक्ने स्मार्ट चस्मा बनाएको छ। बिहीबार लञ्ज गरिएको ‘रे-बन स्टोरिज’ भनिने उक्त चस्मामा फोटो र भिडियो खिच्न दुईटा क्यामेरा, केही कुरा सुन्न माइक्रोफोन र स्पिकर राखिएको छ। चस्मामा भएको ह्यान्डसफ्री भ्वाइस असिस्टेन्टले चस्मामा भएका फिचर्स चलाउन सहज बनाउने बताइएको छ।
चस्माका दुईतिर भएका क्यामेराले पाँच मेगापिक्सलका तस्बिर र ३० सेकेन्डसम्मको भिडिओ खिच्न सक्छन्। चस्मामा भएको एलइडी लाइटले क्यामेरा अन भएको संकेत दिन्छ। जसले गर्दा अरू चस्मा लगाउनेले फोटो खिचिरहेको अरू मानिसले थाहा पाउँछन्।
चस्माको मूल्य २ सय ९९ डलरबाट सुरू हुने फेसबुकले जनाएको छ। स्मार्ट चस्मा लञ्च भएपछि फेसबुकका सिइओ मार्क जुकरबर्गले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका छन् जसमा उनले धेरै पहिलादेखि नै आफूहरूले चस्मा अर्को कम्प्युटिङ प्लेटफर्म बनाउन महत्वपूर्ण हिस्सा हुने विश्वास गर्दै आएको बताएका छन्।
फेसबुकलाई प्रयोगकर्ताका विवरणहरू दुरूपयोग गरेको आरोप बेला-बेलामा लाग्दै आएको छ। स्मार्ट चस्मामा प्रयोगकर्ताले खिचेका भिडियो र फोटो आफूले अनुमतिबेगर प्रयोग नगर्ने फेसबुकले जनाएको छ।