२७ भाद्र, काठमाडौँ : काठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।
आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।
धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम भेटिएको थियो ।