२ असोज, काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छन् । आफ्नो अभिनय जीवनको तीन दशकसम्म सक्रिय करिश्मा अहिले पढाईसँगै अभिनय यात्रालाई निरन्तरता दिइरहेकी छन्। केही दिन अगाडिमात्र उनको कक्षा १२ को परीक्षा सुरु भएको हो ।
यही समयमा उनलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन् । आफ्नो फेसबुक पेज मार्फत उनले यसबारेमा जानकारी दिएकी हुन् । उनले राखेको स्क्रिन सट अनुसार फोन झण्डै १० बजेको आसपासमा भएको देखिएको छ ।
किन गरे त ओलीले करिश्मालाई फोन ?
करिश्माका अनुसार ओलीले उनलाई भईरहेको कक्षा १२ को परीक्षाको लागि शुभकामना दिन फोन गरेका थिए। स्क्रिनमा ओलीको नाम देख्दा छक्क परेको र कसैले मजाक गरेको पो हो की भन्ने लागेको जनाएकी छन् । तर पूर्व प्रधानमन्त्री कै नाम आएकोले फोन उठाएको र ओलीको आवाज सुन्दा अभिभावकत्व महशुस भएको उनले उल्लेख गरेकी छन् ।
करिश्मालाई ओलीले सोधेछन्, ‘करिश्मा जी परीक्षा कस्तो भइरहेको छ ? उनले प्रश्न गरेको उल्लेख गरेकी छन्, ‘तपाईँ केपी ओली ? ‘अ हो, विश्वास लागेन ? ‘अहँ लागेन ! अनि ओलीले करिश्मालाई डुंगाको कथा सुनाएछन्। अनि मात्र विश्वस्त भएको उनले जनाएकी छन् ।
ओलीको फोनबाट कृतज्ञ भएकी मानन्धरले अगाडि लेखेकी छन्, ‘आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल दिनुभएकोमा धन्यवाद केपी बुवा। ’मानन्धरले स्टाटसमा धेरैले राजनीतिक कार्यको लागि फोन गरेको भन्दै उनलाई सोधेका छन्। तर यो फोन कल राजनीतिक नभएको र शुभकामना दिन गरिएको भन्दै उनले जवाफ दिएकी छन् ।
लामो समय अमेरिका बसेर नेपाल फर्किएकी मानन्धर बाबुराम भट्टराईको नयाँ पार्टी नेपालसँग आवद्ध रहिन् । त्यसको केही समयपछि उनले राजनीति छोडेर पूरा नभएको विद्यालय शिक्षा आर्जन गरिन्। कक्षा १० पछि पनि उनको पढाई निरन्तर रह्यो । पढाई सँगसँगै उनी अभिनय र मुन्द्रेको कमिडि क्लबमा पनि सक्रिय रहिरहेकी छन् ।