७ असोज, काठमाडौँ : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रतिनिधिसभामा बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । यसअघि ४ असोजमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो ।
यता आज राष्ट्रिय सभामा पनि विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाबाट पारित विधेयकहरु राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि ३० भदौदेखिको ‘बजेट होलिडे’ अन्त्य हुनेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार सदन अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले पार्टीले कारबाही गरेका १४ सांसद पदमुक्तको सूचना टाँस गर्नुपर्ने या उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।