काठमाडौं । जनकपुरधामस्थित निजी विद्यालयले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएका छन् । कोरोना सङ्क्रमण त्रासका कारण भएको बन्दाबन्दीको असरलाई मध्यनजर गर्दै निजी विद्यालयले विद्यार्थीको वर्षभरि लाग्ने शुल्कमध्ये तीन महिनाको सम्पूर्ण शुल्क मिनाहा गर्ने भनिएको हो ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका (जउनपा) का नगरप्रमुख लालकिशोर साहको उपस्थितिमा निजी संस्थागत विद्यालयको छाता सङ्गठन प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सनका पदाधिकारी सहभागी बैठकले तीन महिनाको मासिक शुल्क, यातायात, छात्रावास लगायतको सबै शुल्क पूर्णतः मिनाहा गरिएको निर्णय भएको जउनपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, गोरखापत्रमा खबर छ ।