नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका चार्ल्स शोभराजले वृद्ध भएको भन्दै रिहाइ माग गरेका छन् । उनले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको छ । बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक शोभराजले उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार सिन्हाको एकल इजलासमा परेको हो ।
कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ । तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ । शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन् ।
विगतमा पनि असल चालचलन भएको विदेशी नागरिकलाई समेत उक्त सुविधा दिइएको भन्दै आफूले पनि उक्त सुविधा पाउनुपर्ने शोभराजले जिकिर गर्ने गरेका छन् । आफू ७० लागेपछि शोभराजले कैद मिनाहाका लागि पटक पटक निवेदन दिएका छन् ।
४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरक फरक मुद्दामा काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।