जानकारी केन्द्र । आज साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार ओरालो लागेको छ ।
आज शयर कारोबार मापक नेप्से परिसूचकका अनुसार बजार १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा पुगेको छ । साथै, नेप्से ०.७७ प्रतिशतले घटेको छ । आज सेन्सेटिभ परिसूचक पनि २.३० अंकले घटेर ३८९.९५ विन्दुमा झरेको छ ।
सोमबार कूल २३० कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता शेयर खरिदबिक्री भई ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी, कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबैको शेयर घटेको देखिएको छ ।
त्यस्तै, आज सानिमा बैंक लिमिटेडले ९ करोड १ लाख ६१ हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ ।
आज ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ५.४० प्रतिशतले घटेर १ हजार ४७ रूपैयाँ २० पैसा हुन पुगेको छ ।
केही दिन यता शेयरबजार राताम्मै देखिएको छ । लगानीकर्ताहरू बजार विरोधीको विरूद्धमा विभिन्न माग लिइ आन्दोलनमा उत्रिरहेका छन् । यद्यपि यी आवाज अझ सुनिएका छैनन् । लगानीकर्ताका यी मागहरु सम्बोधन भए भने बजारमा हरियाली आउला भन्ने आंकलन विज्ञहरु गर्छन्