काठमाडौं । नेता झलनाथ खनाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच खटपट सुरु भएको छ ।
नेता खनालले खासगरी मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै अध्यक्ष नेपालसँग असन्तुष्टि पोखेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको अवस्थामा पनि हालसम्म नयाँ मन्त्रीहरुको सपथ हुन नसक्नु दुर्भाग्य भएको उनको गुनासो रहेको छ । मन्त्रीहरुले पनि पार्टी पद्धती र निर्णय नमानेको भन्दै उनले सार्वजनिक रुपमा आलोचना गरे ।
खनालले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच उचित समन्वय नभएको र आफूहरुप्रति कांग्रेस एवम् माओवादी केन्द्र अनुदार बनेको भन्दै असहमति राख्दै आएका थिए । उनले हाल भने सार्वजनिक रुपमै आगामी संघीय संसद्को निर्वाचनसम्म वाम गठबन्धन गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि पनि प्रश्न उठाए । त्यस्तै, उनले पार्टी पद्धतीको निर्णय सबैले स्विकार गर्नुपर्ने बताए ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले प्रधानमन्त्री देउवा, माधव नेपालपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँडेको आरोप लगाएको रिपोटर्स नेपालमा खबर छ । उनले भने,‘ देउवा र माधवजी पनि केपी ओलीभन्दा फरक देखिनुभएन, एउटै कार्यशैली देखियो ।’ खनालले आगामी संसद्को निर्वाचनमा एमालेसँग सहकार्य हुनेगरि छलफल अघि बढेको पनि संकेत गरे । हाल आफ्नो गृहजिल्ला इलाममा जिससमा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन बनिसकेको पनि खनालले बताए । खनालले पछिल्लो समय वाम गठबन्धनको वकालत गरिरहेको जनाइएको छ ।