काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्ववर्ती सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको दावी गरेका छन् ।
उनले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बिहीबार भएको कार्यक्रममा सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताए । उनले भने, ‘एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ ।’
त्यस्तै, उनले आफूहरु भने कुनै सैन्य सम्झौता गर्ने पक्षमा नरहेको बताउँदै भने, ‘हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । जाँदैन । हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा, नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौं ।’