काठमाडौं । काठमाडौंको भोटेबहालमा रहेको गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एक युवकले सुन र नगद लुटेको जनाइएको छ ।
काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले बेलुका जेठ २९ गते २४ वर्षीय युवतीलाई बलात्कार गरेका थिए ।
त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताए । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएपछि बलात्कार गरिएको थियो । आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको समेत प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
३० वर्षीय विवशले ईमोमार्फत चिनजान भएकी युवतीलाई ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीले पूर्वयोजना अनुसार गेस्ट हाउसको लगबुकमा पनि युवतीकै परिचयपत्र र मोबाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर आरोपी भागेको जनाइएको छ । प्रहरी वृत कालीमाटीले आरोपीलाई बलात्कार र चोरी मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।