काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा काठमाडौं उपत्यकामा हाल १७ जनामा हैजा पुष्टि भएको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । हैजाको पहिलो लक्षणहरु पत्ता लागे, औषधी उपचार गरी जाती हुन सकिन्छ ।
लक्षणहरुः
– लगातार दिसा र बान्ता भइरहनु
– रक्तचाप कम र नाडीको गति बढ्नु ।
– अकस्मात र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा २०–२५ पटक हुनु
– दिसा सुरुको अवस्थामा खैरो वा चौलानी रङको हुनु र पछि गएर दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु
– वान्ता सुरुको अवस्थामा खाएको खानाको अंश र पछि गएर पातलो चौलानी रङको रुपमा आउनु थाल्नु
– लगातारको दिसा र बान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहनु
– शरीरमा पानीको अभावका कारण मांसपेसी बाउँडिनु, छाला चाउरिनु, आँखा भित्र गाडिनु, गालामा खाल्डो पर्नु र पेट भित्र पस्न थाल्नु
– शरीरको तापक्रम कम हुन गई बिरामी हिउँ जस्तै चिसो हुनु
– पानीको कमीका कारण पिसाब कम हुनु र पछि पिसाब नै बन्द हुनु ।
हैजाबाट बच्ने उपायहरुः
– जथाभावी दिसापिसाब नगर्ने
– खाना खानुअघि वा दिसा गरेपछि अनिवार्य रुपमा साबुनले हात धुने
– पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने
– बासी, सडेगलेको, झिँगा बसेको र खुला रुपमा राखिएका खानेकुरा नखाने
– चर्पी नभएमा खाल्डो खनेर दिसापिसाब गरी माटोले पुर्ने
– पुनर्जलीय झोल बनाएर खाने र खुवाउने
– सडकमा तयार तथा बाहिरबाट तयार गरी सडकमा बेच्न राखिएका चिज नखाने
– पानीको स्रोत तथा भन्डारण गरिएको ठाउँ इनार, पोखरी आदि संक्रमित हुनबाट जोगाउने
– बिरामीको मलमुत्र तथा बान्तालाई घरबाट टाढा सुरक्षित स्थानमा गाड्ने
– खानेकुरा राम्ररी पकाएर मात्र खाने
– स्वास्थ्यकर्मीको निर्देशनमा औषधि खाने
– घर वरिपरि किटनासक औषधि स्प्रे गरी सफा राख्ने
– घरमै उपलब्ध हुनसक्ने खानेकुराहरु जस्तैः भातको माड, झोल पदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने
– काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने ।