काठमाडौं । असार महिनामा शुक्ल पक्ष एकादशीलाई देवशयनी एकादशी, हरिशयनी एकादशी पद्मनाभ एकादशी पनि भनिन्छ ।
असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । यी चार महिनालाई संयुक्त नाम चतुर्मास भनिन्छ । यहाँ हुने पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तपको विशाल स्वरूप एक शब्दमा ‘चतुर्मास्य हो । जसमा चार मासको समयबोध र यस समयमा गरिएका सबै व्रत–पर्वको समग्र बोध हुन्छ ।
हरिशयनी एकादशीको पौराणिक कथा
सत्ययुगमा मान्धाता चक्रवर्ती सम्राट राजा थिए । जसको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । त्यसपछि, एक समय राज्यमा तीन वर्षसम्म लगातार पानी परेन । जसले भयांकर अनिकाल निम्त्यायो । यही अवस्थाको हल खोज्न राजा जंगलतर्फ लागे ।
राजा मान्धाता यही क्रममा अङ्गिरा ऋषिको आश्रममा पुगे । अङ्गिरा ऋषिले राजाको कुरा सुनेर भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ त्यसपछि, राजा राज्य फर्किए र विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा भयो र राज्यमा पुनः समृद्धि फर्कियो ।
त्यसैले, पुराणमा असार एकादशीलाई विशेष महत्व दिइने गरिन्छ । धार्मिक मान्यताअनुसार यस दिन भगवान विष्णुको पूजा गरी व्रत बस्दा समस्त मनोकामना पूरा हुन्छ र भगवान प्रशन्न हुन्छन् । यस पूजा विधिमा बिहान उठेर नुहाएर शरीर शुद्ध गरिन्छ । त्यसपछि देवशयनी एकादशी व्रत बस्ने गरिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापनाक साथ पूजाआजा गरी भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाइन्छ । त्यस्तै, उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गरिन्छ ।