काठमाडौं । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गरेको पानीको बोतलमा माकुरो भेटिएको छ । उक्त बोतल कैलालीको टीकापुरमा बिक्रीका लागि राखिएको थियो ।
एक ग्राहकले बिभोर मेडिकलमा पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जनाएका थिए । उनले भने, “पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार गर्नुभएन ।”
उक्त विषयमा उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताए ।
उक्त पानीको बोटल हाल गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको जनाइएको छ । यद्यपि, आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताएका छन् । उनले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताए ।