काठमाडौं । बजेटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित संदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ ।
उक्त बैठक विहान साढे १० बजे सिंहदरबारमा बस्ने भनिएको थियो । जहाँ तथ्यमाथि छलफल हुनेछ । समितिले काम सुरु गरेको मितिदेखि १० दिनको समय अवधि पाएको एक साता बितिसकेको छ । आर्थिक वर्ष २०७९र८०को बजेट प्रतिनिधि सभामा पेश गर्ने अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्ने विषयमा तत्कालिन अर्थमन्त्री जनार्धन शर्मामाथि छानबिन गर्न २२ असारमा संसदीय विशेष समिति गठन भएको थियो ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले सोही दिन अर्थमन्त्री पदबाट राजीनामा दिए । समितिका सचिव सुरेन्द्र अर्यालले हालसम्मको अध्ययनमा प्राप्त तथ्यहरुमाथि आज आन्तरिक छलफल गर्न लागेको बताए । छानबिन समितिमा सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, देव गुरुङ, भानुभक्त ढकाल, बिमला बिक, सुरेन्द्र यादव, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा। लक्ष्मणलाल कर्ण र शक्ति बस्नेत सदस्य रहेका छन् ।
सांसद पुष्पा भूसाल उपसभामुख निर्वाचित भएपछि मानबहादुर विश्वकर्मा उनको ठाउँमा आएका छन् । समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आईटी इन्जिनियर लगायतका अधिकारीहरु सँग सोधपुछ गरेको थियो । तर हालसम्म बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे केही बोलेका छैनन् ।
उक्त विषयमा अध्ययन गर्न अर्थमन्त्रालयको त्यस दिनको सीसीटीभी फुटेज हेर्न खोजे पनि उक्त फुटेज नपाइएको एक सदस्यले बताए । अर्थमन्त्रालयले यसअघि नै १३ दिनभन्दा बढीको फुटेज रेकर्डमा नरहने भन्दै मेटिएको जवाफ दिएको थियो । समितिले जेठ १४ गते मध्यान्ह १४ बजेदेखि १५ गते मध्यान्ह १४ बजेसम्मको सीसीटीभी फुटेज माग गरेको थियो । अर्थ मन्त्रालयले दिएको सीसीटीभीको हार्डड्राइभमा भने असार महिनाको फुटेज मात्र पाइएको छ ।