काठमाडौं । रूपन्देहीको श्री स्टिल्सबाट मंगलबारदेखि टिएमटी छड पनि भारत निकासी सुरू भएको छ ।
पहिलो दिन ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरिएको हो । यसअघि सिमेन्ट भारत निकासी हुँदै आएकोमा श्री स्टिल्सबाट टिएमटी छड पनि निर्यात गरिएको छ । प्रबन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी निर्यात शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक अग्रवालले भारतीय बजारको माग अनुसार निर्यात बढाउँदै जाने जनाए । उनले हालको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरू भएको पनि बताए । उनले यो निर्यात उद्योगको नभई राष्ट्रकै सफलता भएकोले भन्दै सरकारलाई उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन आग्रह पनि गरे । उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको थप जानकारी दिए ।
उनका अनुसार नेपाली उद्योगको क्षमता वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने छ । प्रालिका ब्राण्ड म्यानेजर दीपक शाहले श्री स्टिल्स केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित रहेको बताए ।
यसैगरी, श्री स्टिल्सको प्रतिघण्टा ४० टन छड उत्पादन गर्ने क्षमता रहेको र हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको जनाइएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवामा स्थापना गरिएको श्री स्टिल्समा ३ अर्ब रुपैयाँ लगानी छ ।