काठमाडौं । पाकिस्तान सरकारबाट माग भए अनुसार चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्न चाहनेका लागि आवेदन खुला गराएको छ ।
पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ । शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो ।
एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा रहेको छ । छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारले साउन १६ गतेभित्र अनलाइनमार्फत आवेदन पेश गर्नुपर्ने छ ।