काठमान्डौ । विवाह र परिवार समाजको महत्वपूर्ण संस्था हो । समयानुकूल यी संस्थाहरु मजबुत पनि हुन्छन् र कमजोर पनि हुन्छन् ।
मानव समाजको विकाससँगै परिवार र विवाह जस्ता संस्थाहरु पनि स्थापित भए । आधुनिकीकरणसँगै यी संस्थाहरु परिवर्तित मात्र भएनन् कमजोर पनि हुनथाले ।
परिवार संयुक्तबाट एकलतर्फ जानथाले । तीन चार पुस्ता एउटै परिवारमा बस्ने परम्परामा परिवर्तन आउन थाल्यो । बस्नै आएको थालथलो छाडेर बसाईंसराईंको प्रचलनले दम्पत्तिमात्र साथ बस्ने अवस्था विकास भएको छ ।विवाह मागी नै हुन्थ्यो । अचेल प्रेम विवाह धेरै हुनथालेको छ । विवाहमा नयाँ पुस्ताको इच्छा र चासो पनि कम हुनथालेको छ ।
विवाह नै कमजोर हुँदै गएको छ । पारपाचुकेका घटना बढेबाट यो बुझ्न सकिन्छ ।अर्कोतर्फ, पतिको अधिकार पत्नीमाथि बढी हुने सोचमा परिवर्तन हुनथालेको छ । पत्नीले पतिले आफूमाथि अधिकार जमाउन खोजेको स्वीकार्न छाडेका छन् । उनीहरु सम्बन्धलाई एक अर्कामाथि अधिकारभन्दा विश्वासको हो भन्ने मान्यतामा चल्न थालेका छन् ।
वास्तवमा पति पत्नीबीचको सम्बन्ध विश्वासको हो । एकले अर्कामाथि अधिकार जमाउन खोज्नु अहिलेको युगमा समस्या निम्त्याउनु सरह भएको छ ।पछिल्लो समयमा लगातार केही घटनाहरु घटेका छन् जसमा पतिले अन्य पुरुषसँगको सम्बन्धको आशंकामा पत्नीको हत्या गरे । चितवनमा एक पुरुषले पत्नीको हत्या गरी आत्महत्या गरे । काठमाडौंको काभ्रेस्थलीमा पतिले पत्नीमात्र नभई छोराछोरीको समेत हत्या गरेर आत्महत्या गरे । दुवै घटनाहरुमा पतिले पत्नीमाथि अन्य पुरुषसँगको सम्बन्धको आशंका गरेको खुलेको छ ।
शंकाको भरमा कुनै महिलामाथि हिंसा गर्नु कानूनी र सामाजिक दृष्टिकोणले अपराध हो । अर्कोतर्फ, कुनै महिलाको शरीरमाथि उनकै अधिकार हुन्छ । जसरी कुनै पुरुषको शरीरमाथि उनकै अधिकार हुन्छ । तापनि हाम्रो संस्कारले विश्वासलाई महत्व दिएको छ । सम्बन्धहरु विश्वास र विवेकले चल्ने हो । सम्बन्ध दबाब र धम्कीले चल्न सक्दैन अहिलेको युगमा । कुनैपनि महिला या पुरुष वैवाहिक सम्बन्ध बाहिर सम्बन्धहरुमा लागेकै हो भने पनि हिंसा तथा हत्याका घटनालाई मान्यता दिने उपयुक्त हुन सक्दैन ।