काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव बालुवाटार गएका छन्। आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव आज बालुवाटार गएका हुन्। समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मंसिर ४ को चुनावमा जान चाहेको छ।
आगामी चुनावमा गठबन्धन गरेर जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न भट्टराई र यादव बालुवाटार गएका हुन्। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
‘चुनावी गठबन्धन लगायतबारे पनि कुरा हुन्छ,’ उनले भने। बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन् भने महिन्द्र सर्लाहीमा चुनाव लड्ने तयारीमा छन्। समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ। जसपा छाडेर बाबुराम र महिन्द्रले नयाँ पार्टी हालसालै गठन गरेका थिए।