काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आज पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिट वितरणमा भेदभाव नहुने प्रष्ट पारेका हुन्।
उनले गठबन्धनलाई निरन्तरता दिने सहमति भइसकेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले ०७४ को निर्वाचनमा विपक्षी गठबन्धनका कारण आफूहरुले जित्न नसकेको स्मरण गर्दै अहिले गठबन्धनलाई निरन्तरता दिन चाहेको बताएका छन्।
उनले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको र पार्टी भित्र मजबुत एकता कायम गरेर चुनावमा जानुपर्ने बताएका छन् । आगामी दिनमा पनि कसैलाई काखा पाखा हुन नदिने उनले दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले गठबन्धन छ भनेर ढुक्कसँग नबस्ने नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।