भक्तपुर । चाँगुनारायण नगरपालिकाका सम्पूर्ण किसानलाई नगरपालिकाले शतप्रतिशत अनुदान दिने भएको छ । साना देखि ठूला किसानहरुलाई समेत समेटेर नगरपालिकाले पशुपन्छीको विमा गरिदिने भएको हो । किसानका घरमा पालिएका एक गाई वा भैसी समेतको विमा हुने नगरपालिकाका प्रवत्ता जनक खत्रीले जानकारी दिनुभयो ।
नगरपालिकाले नगर क्षेत्रमा रहेका पशुपालक किसानले पालेका पशुपंक्षीको बीमामा शतप्रतिशत अनुदान हुने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । पशु बीमालाई बढावा दिन र परम्परागत रूपमा रहेको पशुपालनलाई आधुनिकीकरण गरि व्यावसायिक बनाउन नगरपालिकाले सो नीति अवलम्बन गरेको बताउनुभयो ।
नगरपालिकाको आर्थिक वर्ष २०७९ – ०८० को स्विकृत कार्यक्रम अनुसार पशुपन्छी बीमा कार्यक्रमहरु संचालन गर्नका लागि व्यवसायिक पशुपन्क्षी पालक कृषकहरुलाई ८० प्रतिशत अनुदान नेपाल सरकारले व्यहोर्ने र नेपाल सरकारको अनुदान पश्चात कृषकले व्यहोर्ने २० प्रतिशत रकम हाम्रो नगरपालिकाले उपलब्ध गराउने भएको छ।
कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै २०७९ भाद्र २७ गतेभित्र आवश्यक कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्ने छ । नगरपालिकाले सम्पूर्ण किसानलाई विमामा प्राथमिकताका साथ लिने समेत उहाँले जानकारी दिनुभयो ।