काठमाडौं । नेपाल भेटनरी एशोसिएसनले गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो ।
एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ । त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ ।
विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भाद्र ३, ४ र ५ गते काठमाडौ केन्द्रित मेला, अत्यावश्यकका वाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभाग अन्तगतका स्कुलहरुमा अनिश्चितकालिन रुपमा अध्ययन अध्यापन बन्द गर्ने र अनिश्चितकालिन रुपमा पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने जस्ता कार्यक्रम एसोसिएशनले सार्वजनिक गरेको छ ।